Last modified on 4 जून 2017, at 14:51

एक रात आँखाहरूमा / ज्योति जङ्गल


अँध्यारोको साङ्लोमा
बेहोसजस्तो छ,
नि:शब्द निदाएको बहानामा छ रात,
हजारौँ सपनाहरु
उक्लन्छन् बन्द आँखामा
कोसौँ टाढाको मित्र
सेकेन्डभर छेवैमा आइपुग्छ
निदको उडान भरेर।
 
खै देवताहरु के गर्छन्?
डयुटीको सिपाही बन्दुक नचलाई
सपनाको हत्या गरिरहरन्छ,
कुन अनुशासनमा उभिन्छन् चुपचाप रुखहरु
र थाम्छन् जª\uल
कसलाई राख्छन् अँध्यारोले झपक्क बन्द गरेर
लज्जावती झारका आखाहरु ?
 
अँध्यारोको पर्दामा कसरी जोगाँउदो हो
फूलले लोभलाग्दो रङ
कहाँ सुते ती चरा ?
त्यो सडकपेटीको अपाङ्ग भिखारी
जता पनि बोल्दै हिँडिरहने त्यो पागल ?
 
घरहरुले ढोका लगाएपछि
ती बाटाहरु समेत सुतेहोलान्
कैदबाट छुटेर सपनामा
कैदीहरु घरै पुगेहोलान् ।
 
पटकपटक कोल्टे फेर्दो हो
भर्खर प्रेम बसेको जवानी,
सन्तुष्ट आमा नानीको ओड्नेले
निन्द्रा छोपिरहेकी छन् कि,
अभाव या तृष्णा,
चोर्नेहरुको दाउ पर्यो कि परेन
एकान्तमा लेख्न बसेको कलमको चेतना
अक्षरहरुमा सर्योस कि सरेन ?
 
विरामी मात्र
एक्लै व्यथा सहिरहेको छ,
अँध्यारोमा आँखा देख्नेले
कुन सौन्दर्य हेरिरहेको छ ?
डरलाग्दा आवाज निकाल्ने
हिंस्रक अस्तित्व,
भुइँभरि सल्बलाउने जीवहरु
कहिल्यै विश्राम लिँदैनन् ।
 
निदाउनेहरुलाई मात्र
समयको गति ढाँटिरहेको यो रात,
अनिदाहरुलाई
न भयले मार्न सक्छ ?
न सपना बाड्न सक्छ ?