Last modified on 20 मई 2017, at 00:02

एशिया / लक्ष्मीप्रसाद देवकोटा

अमृत कलकल वाणी !
ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण ।
“आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी !
अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग,
रङ्ग छ एक बिहानी !
जाग जाग हे !

शिखर लाग हे !
चिरनिद्रित दृग मिच ज्ञानी !
निर्मल हृदय छ तिम्रो वैकाल, वल्कसको जल–खानी !
प्रथम किरणकी ऊँची चुली, प्रथम सृष्टिकी रस लहरा !
सभ्यताकी गुरुमा नि !
सकल धम्र्मकी किरण–केन्द्र ए ! विश्वकी पहली बिहानी !
पामीर तिम्रो विश्व–छत्र हो ! झ्यालमोलङ्मो कीर्ति–चुली !
स्टानोभोइदेखिन् एल्बुर्जपर्वत–हार बयानी !
निहुरिन्छयौ तिमी यूरालउपरमा चुमी यूरोपा रानी,
उत्कर्षहरुको खानी !
चिरशोषित हे ! चिरदूषित हे !
जाग, जाग हे जाग !

अरबौं जनका जनशक्ति लिई उन्नति–पथमा लाग !
उच्चारन हे विश्वप्यारको,
विश्व–शान्तिको वाणी—
महाद्धीपकी ए महारानी !
आर्य र मङ्गोल द्राविड, निग्रो, कमचटूकी या जापानी,
सुमेरुदेखिन् वालीसम्मन् यूराल फुजी सीमानी,
एक लहरमा सब लहरेलान् !
एक प्रभावले सब सिहरेलान् !!
एक हि लक्ष्य निशानी !
मानवताको झन्डा उचाली !
युगका कुइरा फाली !!
एक सूत्रमा सकल राष्ट्रको प्यारको माला गाँसी,
भाइ परस्पर जानी !
उच्चालित होऊ !
उच्चालित होऊ !
जाग जगत्मा, मावनताको
जीवशक्ति प्रमाणी !
महाद्धीपकी ए महारानी !
सकल विभवकी खानी !
जाग एशिया रानी !

चीन छ तिम्रो वीर सुपुत्र सिंह उठेको अब शानी
रुस सदृशको तनय विशाल छ, विश्वविजेता विज्ञान ।
तर भूतलमा आज छ राती,
थरथर काँप्दछ मानवजाति,
आण्विक ली पशुबल कोही धम्की दिन्छ नजाती,
तिमीले बोक्नु छ आश–दियाली
तिमीले अमृत–थाली
तिमीले बटार्नु छ सूत्र सुनौला, प्रेमको पन्था चाली !
विश्वशान्तिकी ध्वनि बन शानी !
महाद्धीपकी महारानी !
जाग छ आज बिहानी !!