Last modified on 4 अक्टूबर 2017, at 15:12

ए म बौलाइसकेछु ! / हरिभक्त कटुवाल


मौलाऊँ भन्दा-भन्दै
म त पक्कै बौलाइसकेछु,
आँखा-आँखामा अट्ने नानी बनूँ भन्दै थिएँ
कतै नअट्ने पो भइसकेछु ;
हरेक नाङ्गाको लाज छोप्ने सपना देख्थेँ
आफ्नै निर्वाङ्ग उदाङ्ग नाङ्गिसकेछु ।

ए, म बौलाइसके मौलाउनै नपाई यहाँ
डाह-ईर्ष्याका तगाराले छेक्न सक्दैनन् अब मलाई,
मेरा पैतालाले हिमालका टाकुरा टेकिसके
अशान्त-प्रशान्तको फैलावट पनि फड्किसके
ए मेगाटन, अणु-परमाणु बमका निर्माता हो !
तिम्रो बमको बिस्फोटमा म अब मर्ने छैन ।

लौ, म आँखाको नानी हुनै नपाई
कतै नअट्ने भइसकेँ
कसैको कोपको सङ्कुचित खाडीमा पनि
सायद नअटुँला म अब,
यसरी कतै नअट्ने हुँदा-हुँदै
आकाशलाई नै उछिन्न के बेर ?
अनि त, नअटुँला सीमित संज्ञाको घेरामा पनि
कठै, कसैको लाज छोप्नै नपाई ।

आफैँ छ्याङ्-छयाङ्ती नाङ्गिसके
अब त आफ्नै लाजको प्रदर्शन भइरहेछ यहाँ
शिशिरमा बुच्चिएका रुखहरु झैँ ;
मेरो नाङ्गोपनमा -
बर्सिरहेछन् खित्का-खित्का
तर्सिरहेछन् आँखा-आँखा
ए म बौलाइसकेछु !
कतै नअट्ने भइसकेछु !!
निर्वाङ्ग-उदाङ्ग नाङ्गिसकेछु !!!