भित्तामा झुन्डिएको ऐना हेरेँ
पटक्कै चित्त बुझेन
झिकेरै हेरेँ
अहँ फ्याट्टै मन बुझेन ।
उँधोलाई उँभो बनाएँ
दायाँलाई बायाँ बनाएँ
रत्तिभर मिलेन अनुहारको चौखुडा
रिस उठ्यो,
ऐना नै भुइँमा झारिदिएँ ।
फेरि चित्त बुझेन
चिराचिरा चर्किएको ऐना
टिपेँ, हेरेँ
आहाऽऽऽ !
बल्ल मिल्यो
ठ्याक्कैसँग निल्यो
काटीकुटी आपूmजस्तै ।
खुसी लाग्यो–
भाग्यमानी रहेछु
खुसीले चर्किएको ऐना साबिकमै झुन्ड्याइदिएँ
र निस्किएँ सडकतिर ।