Last modified on 23 जुलाई 2017, at 11:13

कत्ति हो कत्ति / दिनेश अधिकारी


कत्ति हो कत्ति मायाको बाटो, आँखाले बोल्छ ओठको साटो
मैले त भाकेँ मायामै जुनी, माटोले छोडे मन हुन्छ बाटो

जुर्‍यो कि कतै एकान्त–भेट, नखाए पनि भरिन्छ पेट
लाग्दैन जाडो पुसैमा पनि शीतलु लाग्छ वैशाख–जेठ
कत्ति हो कत्ति मायाको ढङ्ग, दोहोरी चल्छ एकान्तसँग
नपाए के भो लेखेर भन्न ? बोलेकै हुन्छ जीउको अङ्ग

चोरेको माया झन् कत्ति मीठो, मनभरि सर्छ घामभन्दा छिटो
पर्दैन प्यूनु पानीको घुट्को तिर्खा नै हुन्छ तृप्तिझैँ मीठो
कत्ति हो कत्ति मायाको शक्ति, चिम्ले’ नि आँखा भरिन्छ दृष्टि
तगारो हाली छेके नै पनि मायाले भोग्छ मनभित्रै मुक्ति