आक्रमण नभई
समर्पण हुँदैन
समर्पण पराजय हो अहंको
म पराजिता
सदा समर्पित भएँ तिमीमा ।
सके त्यो आदिकालमा
कुनै जङ्गल, बाटो
वा कतै गुफामा
मलाई देख्नासाथ
उन्मादले उन्मत्त भई
आक्रमण गरेका थियौ तिमीले
र केही नलागी
समर्पण गरेथें क्यार
त्यहाँ त्यस बेला मैले पनि ।
सके यसरी नै हामीले
एकअर्कालाई पाएथ्यौँ
चिनेथ्यौँ, सँगै बाँचेथ्यौं
र नजानी, नचाही सिर्जना गरेथ्यौँ
यो सृष्टिको ।
त्यो उन्मादको आनन्द
र विजयको घमन्ड तिम्रो
त्यो जबरजस्तीको ग्लानि
र असहाय गर्भको पीडा मेरो
दोहोऱ्याउँदै छौं अझै हामी
उही आक्रमण र समर्पणको कथा हाम्रो ।
तर सम्बन्ध युद्ध हुन सक्दैन
भावनाले स्वेच्छाको सम्मान खोज्छ
कहिल्यै न कहिल्यै ।
हिँड निस्कौं हामी अब
त्यो आदिकालको मानसिक गुफाबाहिर ।