Last modified on 25 अगस्त 2024, at 19:57

कर्मचिन्तन / गीता त्रिपाठी

 
मन छ
मन अडिन घर छ
घर छ
घरको आत्माजस्तो मन पनि उसरी नै छ
छनलाई त दुवै कुरा छन् सँगसँगै

पर्छु घरबाहिरै धेरैजसो
छरिएका हुन्छन् दृष्टिहरू
फैलिएका हुन्छन् दृश्यहरू
क्षितिजसम्म पुगेर फर्केजस्तो घाम
घरैतिर
हेर्छु बारबार,
गइरहेछु... आइरहेछु
आइरहेछु...गइरहेछु
फर्किरहेछु... रोकिइरहेछु ।
अभ्यस्त ...रहेछु ... रहेछु ... रहेछुहरूको !

अस्तित्वको निरायाम निरन्तरतामा
सदैव साथ दिने एउटै कुरा छ,
बाटो...
डोरयाउँछ... पुरयाउँछ... ल्याउँछ
ल्याउँछ...पुरयाउँछ...ल्याउँछ
लयबद्ध छु...याउँछ .. याउँछ .. याउँछहरूको !

सोचिबस्छु हिजोआज,
किन रोकिइरहेको बाटो ?
किन पस्दैन घरभित्र यो?

उत्तर दिइरहेछ
अप्रतीक्षित आवाज
"उज्यालो आएतिर हेर,
ढोका अनादिदेखि खुलै त छ ।"

म घरतिरै फर्किरहेछु... !