Last modified on 26 मई 2017, at 12:22

कर्म तिर्खा / विष्णु न्यौपाने

सब प्रस्ट भयो मति भ्रष्ट भयो
अरुकै भरले गति नष्ट भयो ।
बरु दुःख गरी कन खानु परोस्
नगरी कन कर्म त मर्नु परोस् ।।
(१)
गरियो पहिले कति काम कति
भइयो अहिले कमजोर पति ।
मुछियो मनमा जब राग रति
अति साफ भए सब ज्ञान जति ।।
(२)
मदबासनले अति चोट भयो
धन इज्जतमा पनि खोट रहृयो ।
म विवाह नभै जति भर्भर थें
अब मर्दपना पनि ह्रास भयो ।।
(३)
कति जोस भरें कति होस गरें
अति भो अबता अपसोच गरें ।
जति मार्ग तलास म गर्दछु क्यै
मन झन् दुखी बन्दछ चिन्तित भै ।।
(४)
प्रिय फूल थिइन् म थिएँ भमरा
रस चुस्न उडें लहरा पहरा ।
जति आसन थे मद वासनका
उति उल्झन छन् अब रासनका ।।
(५)
सब हार भयो पद भार भयो
शिरमा ऋणकै सरकार भयो ।
बरु कष्ट मिठो बरु दुष्ट मिठो
खटनी अरुको अति नै नमिठो ।।
(६)