कविको कोठामा
कविताहरू उम्रिरहन्छन्
प्रवेश गर्छु
चारैतिर कविताहरू भरिन्छन्
र, कोठा
खाली-खाली हुँदै जान्छ
त्यो खाली ठाउँ
सिङ्गो महादेश हो कविका निम्ति
ऊ त्यहीँबाट रच्छ भावनाको समुद्र
र,
शीतल बनाउँछ सम्पूर्ण
मरुभूमिलाई
मेरो आत्मीय कवि
रित्तिनुसँग हार मान्दैन
विद्रोह गर्छ-
माग्छ अझै धेरै खाली ठाउँ माग्छ
उसलाई यो कोठा साँगुरो लाग्छ
उसलाई यो भर्याङ् कमजोर लाग्छ
छानो झिकेर मिल्काउँछ
भर्याङ उप्काएर फाल्छ
भर्न चाहन्छ ऊ-
आकाशमा धर्तीको हरियाली
र धर्तीमा आकाशको निलिमा
समयको कालोपाटीभरि
भरिन्छन् सेता अक्षरहरू
चारैतिर उज्यालो भर्ने
मेरो प्रिय कवि
आफै भने
खाली-खाली हुँदैजान्छ
कोठाझैँ खाली...खाली ।