Last modified on 31 मई 2017, at 15:21

कविताको आकास / बासुदेव पुलामी


पानीको एक थोपा शब्द
वाफ बन्दै उठ्छ माथि अर्थको आकासतिर
जहिले पनि अर्थ आकास जत्तिकै फराकिलो हुँदै जान्छ
उत्तिकै रित्तो रित्तो हुँदै जान्छ।

कविताको आकासमा
उडिरहेका अर्थका बादलहरू कहिले एक-अर्कामा ठोक्किएर
तल धर्तीबाट उठेका पानीको जरासम्मलाई हल्लाउँछ।

कत्ति माथि उठ्न सक्छ र बादलको आकृतिमा अर्थ
गह्रौ भइरहेर फेरि झर्छ नै तल
धर्तीको छात्तीमा।

कविताको आकास
झलमल्ल तारा र जून लागेका रात हुन सक्छ
घामका राता लालीमा चढेको क्षितीज हुन सक्छ।

तर सँधै अर्थको पछिल्तिर दगुरिरहेका कुइरोले
कविताको आकास नै अध्यारो बनाइँदिन्छ ।

कविताको आकास
कति माथि छ, कति गहिरो छ,
अर्थका असिनाहरू सँधै आकास भेट्न नपाइँ झरिरहन्छ
तल
तल कतातिर ।