Last modified on 4 जून 2017, at 15:30

कवितापीडा / निमेष निखिल


 
कविता लेख्न खोज्दा
वर्तमान लम्पसार पर्योि डायरीका पानाभरि
निरीह कलम वमन गरिरह्यो
एकपछि अर्का वेदनाका छालहरू... ...।
 
तिमीले उपहार दिएको डायरीमा त्यति बेला म
कविता लेख्न खोज्दै थिएँ।
 
हेर्दाहेर्दै डायरीका पानाहरू
ससाना रगतका पोखरीमा रुपान्तर भए
अचम्मलाग्दा लिलिपुट मान्छेलासहरू पौडी खेल्न थाले
छप्ल्याङ ... छप्ल्याङ ... पोखरीमा।
 
तिमीले उपहार दिएको डायरीमा त्यति बेला म
कविता लेख्न खोज्दै थिएँ।
 
तिमीलाई त मान्छेका कविता मन पर्छ
मान्छेगालामा टाँकी र चुवाहरू फुलेका कविता मन पर्छ
त्यसैले एकाएक रोकेँ मैले कवितासँगको मेरो सहयात्रा
तिमी नै भन !
कविताका नाममा अझै कति लासहरूको खेती गरुँ म ?
कति लेखौँ विक्षत वर्तमानका
अक्षत विसङ्गतिहरू/दुर्नियतिहरू ... ...।
 
कलमविरोधीहरू भाला बोकेर आउँछन् बस्तीमा
शब्दहरू पहरेदार भएर उभिन्छन् पहाडझैँ
युगीन अन्धकार घनीभूत भएर
जब सुकोमल शब्दव्यञ्जित भावमाथि बलात्कार गर्न खोज्छ
थाहा छ तिमीलाई?
कति पीडक अनुभूति सञ्चार हुन्छ कविमनमा?
 
फेरि पनि मान्छेकवि हुनुका हरेक बोधसँगै
सल्बलाउँछन् भावनाहरू कविमान्छेमा
र मान्छेमनका अचेतन आवरणहरू चिरेर
टुसाइरहन्छन् दुबोजस्तै कविताका मुनाहरू ... ...।
 
साँच्चै! तिमीले उपहार दिएको डायरीमा यति बेला म
कविता लेखिरहेको छु।