कविता लेख्नै परेन यसपालि
शोकमा आँसुसँगै बग्यो कविता
जम्यो/पोखरी बन्यो
पीडामा पीडासँगै मुर्त्यो कविता
दुर्बोध किरिङमिरिङको सादृश्य आकार बन्यो
विडम्बना
भोकमा भुटेको मकैसम्म बन्न सकेन
सुन्दर भोकमै अभाव गाइरह्यो कविता।
कविता लेख्नै परेन यसपालि
भएको पनि खोसिँदा
कायरताको डङ्गुरमा रुपान्तरण भइरह्यो
र वाचन गरिरह्यो कविता
अकिञ्चनका आर्तहरू
पाएको पनि गुमाउँदा
अभावकै आकृति बनेर उभिइरह्यो कविता
र पर्खिरह्यो
पाठकहरूको जमात
विडम्बना
विद्रोहमा एउटा औँलोसम्म भएर उभिन सकेन
अन्यायलाई अन्यायकै रुपमा पचाइरह्यो कविता।
कविता लेख्नै परेन यसपालि
उजाड सिउँदो र रित्तो काखमा
चट्याङ खसेको आवाजझैँ ध्वनित भइरह्यो कविता
छहारीहीन अश्रुसिक्त अनुहारहरूमा
अपूरणीय आहत बनेर बिम्बित भइरह्यो कविता
विडम्बना
सान्त्वनाका शब्दसम्म बन्न सकेन
ओठहरूमा फगत्
शोकगीत बनेर गुन्जिरह्यो कविता।
हो कविता लेख्नै परेन यसपालि
लेख्नै पर्दो हो त
भोकशमनको नाममा
एकघान मकै लेखिन्थ्यो होला कवितामा
मुक्ति परिवर्तनको नाममा
अलिकति भए पनि क्रान्ति लेखिन्थ्यो होला कवितामा
केही नभए
सान्त्वनाका दुई शब्दसम्मै त लेखिन्थ्यो
सत्ते हजुर!
कविता लेख्नै परेन यसपालि... लेख्नै परेन ... ...।