छर्कियो कसैले
आखाको नानीमा
खस्रोखस्रो वालुवा,
र बग्यो सबै ज्योति बोकेर
आशाको समुद,र
मेरो कवि,
ओठमा मुस्कान बोकेका बालकहरु
त्यही समुद्रमा बगेको देख्छ।
हात जोडेर उभिएको छ
अन्धो सडक,
कोही छैन
हात समातेर बाटो काट्ने,
ढाल्यो उसैले
किनारामा उभिएका रुखहरुलाई
छपछपी,
आफैंले आफुलाई काटेर मुर्कुटो युग
टासियो
हरेक नानीको अनुहारभरि
भयमा साटिएर।
नानीहरुसगै डराइरहेको छ कवि
नानीफूलहरु,
आधी भरिएको भोलिलाई
कसरी परास्त गर्छन्
र कामना गरिरहेछ ऊ,
ईश्वरले भोलि
नानीहरुलाई कलम दिऊन्
मात्र कलम दिऊन्।