कसम त कति खाइयो कति !
– आमाको नाममा
– पितृको नाममा
– देवी–देउताका नाममा
– विद्याको दाउमा
– किरियाको बन्धकिमा ।
नपत्याइएको कुरा कति सजिलै सत्य बनिदिन्थ्यो
एकै कसमले ।
उबेला,
न्यायाधीश नै भएर उभिएको थियो कसम ।
सानी छोरीलाई टिका लगाइदिएर काकाले
रक्सी छोड्छु भनी खाएको कसम तोडेको पनि देखेँ,
आमाको हात शिरमाथि राखेर दिदीले
झूट बोलेको पनि देखेँ,
औतारी–थानको ढुङ्गा छोएपछि
दाजुको गल्तीले उन्मुक्ति पाएको पनि देखेँ ।
बोलीपिच्छे जोडिइँदै गए कसमहरु
सँगसँगै तोडिइँदै र झूटो पनि हुँदै गए ।
सत्य होला,
कहिल्यै कतै कुनै कसमले नि पिरोल्न सकेन ।
धत्, उबेलाको डर !
–कसम जतिको मिथ्या अरु केही पो नहुँदो रहेछ ।
तर चाहेरै टुट्ने त कहाँ हो रहेछ र कसम !
अहिले आएर थाहा पाउँदैछु,
नाथे एउटै कसमले कतिसम्म पिर्दोरहेछ !
जब तिमीलाई बिर्सिदिने कसम खाएँ ।