काठमाडौं !
सम्पूर्ण देश बोकेको भ्रममा रहेर
तिमीले एक घुट्को पानी पिउन सकेनौँ
सभ्यता बोकेको आडम्बरमा
तिमीले
जीउ ढाक्ने गरी लाउन जानेनौँ ।
आऊ काठमाडौं,
मसँग हिँड
मधेशका फाँट
वा
पहाडी पाखातिर ।
म तिमीलाई
तिर्खा मेटाउने गरी पानी पियाउने छु
आङ ढाक्ने गरी लाउन सिकाउने छु ।
बैँसका सगरमाथालाई विदेशी झिनो कञ्चुकले च्यापेर
खुत्रुके बनाई प्रदर्शित गर्दै
माग्नपर्ने छैन तिमीले
माया वा सभ्यता,
दुई शब्द मीठो बोले पुग्छ।
चाकडीमा घोटेर दुखाउनु पर्ने छैन हात
अनि घात र अन्तर्घातको लडाइँ लडनपर्ने छैन
पेट भर्नलाई
अलिकति पसिना पोखे पुग्छ।
एउटा कुरा भने माया मार्नुपर्छ,
अवश्य तिमीले
त्यहाँ कुर्सी पाइन्न।