पहिलोपटक
तिमीले जस्तै
मैले पनि काठमाडौँलाई
अग्ला भवनहरू,
पक्की पुलहरू र
चौडा सडकहरूमा भेटेको थिएँ ।
भेट्नुअघि मलाई लागेको थियो-
म काठमाडौँलाई सुन्दर कविताहरूको सङ्ग्रहजस्तो पढ्नेछु,
सङ्गीतमय गीतहरूको एल्बमजस्तो सुन्नेछु र
इन्द्रेणी सपनाहरूको रङजस्तै समेट्नेछु ।
भेटेपछि लाग्यो-
च्यातिँदै गइरहेछ, कवितासङ्ग्रह,
मेटिँदै गइरहेछ सङ्गीतका मिठासहरू
उप्किँदै गइरहेछ, जीवनका रङ्गीन लिउनहरू ।
एक बिहान
सुत्केरी घामसँगै ओर्लेर
यहीँ फिजाएथेँ मैले,
मेरा रहरका बिस्कुनहरू
र
आजसम्म पनि
तिनका प्वाँखहरू
कहिल्यै पलाउन छाडेनन् ।
समय बिछहट्टै भोकाएको रहेछ यहाँ,
त्यसैले त टोकरीबाट झिकेर
कोही स्याउजस्तै टोकिरहेछन् काठमाडौं,
कोही बदामजस्तै चपाइरहेछन् काठमाडौं,
अहो !
यो कस्तो तिर्खा हो ?
माछाजस्तै छट्पटाइरहेछन् मञ्जुश्रीहरू,
र रानीपोखरीमा बिलाइरहेछ काठमाडौं ।
हामी पनि सुन्तलाझैँ छोडाइरहेछौँ,
केस्रा-केस्रा बनाएर भाग लगाइरहेछौँ
र, खाइरहेछौँ !
स्वाद आए पनि नआए पनि ।