किंवदन्तीहरुको सहरबाट <ref>धरान र धरानको बुढासुब्बा मन्दिरसँग जोडिएको किंवदन्तीहरुमाथि लेखिएको कविता</ref>
इतिहासको साँध-सिमानाभन्दा अलिक पर्तिर
हेराई ठोक्किनुको क्षितिजभन्दा निकै पर
विश्वास र अविश्वासको परिधिभन्दा पनि टाढा
मनले छिचोल्न सक्ने भूगोलभित्रबाटै तर
शुरु हुने गर्दछ— एउटा किंवदन्तीहरुको सहर
सोही सहरमा प्रत्येक दिन
उम्रने, झाँगिने, फल्ने र फुल्ने गर्छन् रे
— किंवदन्तीहरु, थुप्रै–थुप्रै किंवदन्तीहरु
जहाँ किंवदन्ती नै बाँचिरहेका
बस्ने गर्दछन् थुप्रै-थुप्रै किंंवदन्तीजस्ता मान्छेहरु
सुनाइरहन्छन् जो किंवदन्तीजस्तो सहरका किंवदन्तीजस्तै किंवदन्तीहरु
सहरको मन्दिर छेउ भेटिने मट्याङ्ग्राहरु
जसलाई पिँधेर खाँदैमा
निको हुनु बिरामीले पनि
सुनाइरहन्थ्यो थुप्रै किंवदन्तीहरु
त्यही मन्दिर जहाँ
दिनहुँजसो चढाइने
टाउको
मुटु र कलेजोले<ref> यस मन्दिरमा कुखुरा र सुङ्गुरको टाउको, कलेजो र मुटु चढाइने गरिन्छ </ref>
भनिरहन्थ्यो एउटा अर्कै किंवदन्ती
किंवदन्तीको त्यही मन्दिरबाट फुत्त निस्किएर
मन्दिरकै देउता सुब्बा बाजे तर दिनहुँ
अर्कै किंवदन्ती सुनाउँदै सहरलाई
झर्थे ओह्रालै ओह्रालो चारकोशेतिर खेल्नलाई शिकार
किंवदन्तीभित्रको सोही किंवदन्ती सुनाउथे एउटा बाबा
आफ्ना छोरा-छोरीलाई यसरी—
हो, यही बाटो हुँदै घोडा चढेर
सुब्बा बाजे जाने गर्दथ्यो खेल्न शिकार
यही बाटो छेउ ढुकेर
खोजेथ्यौँ हेर्न उनलाई कतिचोटि
यही बाटोमै खैँ के ले हो के ले कुन्नी
दिँदैनथ्यो उठेर हेर्न उनलाई
यही बाटोमा घोडाको टाप तर निकै माथि
अथवा निकै तल पुगेपछि
मात्रै सक्थ्यौँ उठ्न हामी
हो, यही बाटोमा ।”
"किन जान्थ्यो होला शिकार खेल्न सुब्बा बाजे
मन्दिरमै दिनहुँ ढालिने किंवदन्तीहरुकै पहाड नाघेर ?"<ref> एउटा कथा यो छ बुढा सुब्बा, जसलाई कुखुरा चढाइने गरिन्छ दिनहुँ, लाई र उनको थर भएको पुरै लिम्बुजातीलाई नै साँच्चैमा कुखुरा चल्दैन ।</ref>
किंवदन्तीहरुकै बीचबाट उठ्छ छाल यो प्रश्नको
र बज्रन्छ केन्द्रको चट्टानसँग गएर
भिजाउन नसकेर चट्टानको चट्टानजस्तै मुटु
फर्कन्छ फेरि किंवदन्तीहरुकै बीचमा
किंवदन्ती सुनाउँदा–सुनाउँदैको यो सहर
किंवदन्ती भइरहेछ दिनहुँ यसरी आफै