हिजो राति सपना देखेँ-
अग्ला-अग्ला पहाडहरूको घेरामा रहेको
एउटा सानो कुण्ड
उत्तेजित गन्धले आकर्षित गरिरहेको
हल्का हावाले झ्याउहरूलाई हल्लाउँदा
कुण्डको पानी गम्भीर भएर चलबलिन्छ
गहिरिएर साँघुरिएको कुण्ड
फैलिन खोज्छ तन्किएर
दुइटा सेता ढुङ्गाहरूको बीचबाट ।
मैले सुनेको थिएँ-
कुण्ड पवित्र हुन्छ
कुण्डभित्र जति फोहोर फाले पनि
कुण्ड सधैँ निर्मल हुन्छ
कुण्डको पानी जति पिए पनि
कुण्ड सधैँ रसाइरहेको हुन्छ ।
म पहाड चढ्दै जान्छु
प्रत्येक चढाइमा एउटा डर र विश्वासले
मलाई अँठ्याइरहन्छ
कता-कताबाट एउटा आवाज आउँछ-
'ए, तिमी त्यहाँ नजाऊ
सर्पले कुण्डलाई पहरा दिइरहेको छ
त्यो कुण्डभित्र सर्पले विष फालेका छ
त्यो सुन्दर कुण्डलाई हेर्ने प्रयास नगर
त्यो चिसो कुण्डको पानी पिएपछि
मात लागेर कुण्डबाट माथि आउन सक्नेछैनौ' ।
एक्कासि मेरो नजिक एउटा सानो गुफा देखा पर्छ
म अड्छु
कहीँ अरू बाटो देख्दिनँ
मुटु ढक्क भएर आउँछ
गुफाबाट एउटा सर्प सुल्ल बाहिर निस्कन्छ ।
फेरि मेरो कानमा आवाज आउँछ-
'तिमी त्यो गुफाभित्र पसेर कुण्डमा जाऊ
सूर्यको किरणै देख्न नपाएको कुण्ड तिमीले देख्नेछौ
सूर्यको तातो स्पर्श पाउने आशा लिएको कुण्ड तिमीले देख्नेछौ
ओझेल परेको सूर्यको तापले मत्याएको कुण्ड तिमीले देख्नेछौ
अझ देख्नेछौ
कुण्डको किनारमा पल्टिरहेको एउटा चिसो सर्पलाई' ।
हँसिलो मुस्कान दिएर चिसिएको कुण्ड
मेरो नजिक उभिई र भनी-
'नडराऊ, अघि बढ
मेरो वरिपरिको झ्याउ सफा गर
आऊ, नजिक आऊ एउटा सुगन्धित गन्धले
तिमीभित्रको चिसोपनमा अग्नि उत्पन्न हुनेछ
त्यो तिम्रो तातोपनमा
चिसिएको कुण्ड पनि तातिनेछ
नडराऊ, तिमी शिव बनेर अघि बढ
तिम्रो वाहन सर्पलाई
सबले तर्सिने गरेर देखाइदेऊ
तिमीभित्रको विषको ज्वालालाई
कुण्डभित्र ओकलेर चिसो पारिदेऊ' ।
अनि भनी-
'म सधैँ तिमीलाई शिवको रूपमा हेर्न चाहन्छु
तिमी रूप बदलेर
तिमी वेश बदलेर
सधैँ-सधैँ कुण्डभित्र घुस्ने गर
डिलमा बसेर पहरा दिनेहरू सब सुतिसके!'