Last modified on 23 जुलाई 2017, at 11:15

कुन बाटो हेरूँ / दिनेश अधिकारी


कुन बाटो हेरूँ ? कुन भाका भरूँ ? कुन गरूँ सिँगार ?
आउँदै छ आज परदेशबाट मनको पियार

ढोकामा बत्ती बाल्नु कि मैले कलशै पुज्ने हो ?
कत्ति छ माया कि मलाई हेरी उसैले बुझ्ने हो ?
कुन पोते लाऊँ ? कुन चोली फेरूँ ? के लाऊँ निधार ?
आउँदै छ आज परदेशबाट मनको पियार !

पोलूँ कि पहिल्यै हरिया मकै ? कि साँधूँ अचार ?
कि, भोकै टर्‍यो भने हो उसले हेरेर मुहार
कुन ठाउँ छोडूँ ? काँ छेउ बसूँ ? कुन खोलूँ दुवार ?
आउँदै छ आज परदेशबाट मनको पियार