कुमारी साँझ / विमल वैद्य

बास बस्न लागेको साँझ
नदीको सुरम्य संगीत संगै
पानीको सुनौलो छायामा तैरिरहेको हुन्छ
हावाका लहरहरूले छोइदिदा
तरंगका कोमल स्पर्सहरू
मनलाई छुदै हराइ जान्छन्
गोधूली क्षितिज छेउ उभिएर
साँझलाई पर्खिरहेका म जस्तै मानिसहरू
रोमाञ्चकताको धूनमा
साँझमा टल्किरहेको पानी संग संवाद गर्न थाल्छन्
सुस्तरी बहदै गरेको
बतास संग गफिन थाल्छन्
साँझको बद्लिदो रंग संग
हाँस्न थाल्छन्
रमाउन थाल्छन्।

पानी हाँसको पखेटामा टाँसिएर
भर्खरै उडेको हो
अलिकति खुशी
चरन छोडेर गोठ फर्किरहेकका
बस्तुहरूको ढाडमा चढेर गएको हो
थोरै मुस्कान
तैरिदै / तैरिदै कीनार छुन लागेको
डुङ्गामा बसेर
बग्दै गएको हो केही उमंगहरू
माझीको जालमा उनिएर यो मन
उसकै पिठ्युँमा झुन्डिएर
हिड्दै पुगेको हो
त्यो मायावी गाउँ सम्म
जहा पर्खेर बसिरहेकी थिइन
एउटी कुमारी साँझ।

प्रश्न रित्तिएको म एउटा मान्छे
उठिरहेका थिए यद्यपि
अनगिन्ती जिज्ञासाहरू आफै भित्र
जसरी साँझ ढल्दै गयो
जवाफ बनेर उदाउन थाले जूनहरू
बिस्तारै हराउन थाले रहरहरू
जसरी समर्पणको धूनी बल्न थाल्यो आँगनमा
मैले देखिरहेको बेहुली घुम्टो
आँखा बाट साँझ खस्दै गएपछि
धूनीको रापमा टल्किन थाल्यो
रातको आकाशमा तारा जस्तै चम्किन थाल्यो
हो,
त्यसै बेलादेखि
म भित्र साँझको सम्मोहनले
घर बनाउन थालेको हो ।

०००

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.