घोषणा गर्छु–
संसारको सबैभन्दा कुरूप चित्र हुँ म ।
आफू हुनुको अहम्
“म” हुनुको गर्व
या चल्तीकी सुन्दरी नायिका
या कुनै विश्वसुन्दरी
कुनै आर्ट–ग्यालरीभित्र छाडिदिने हो भने
ती पनि सोच्नेछिन् कि
संसारको सबैभन्दा कुरूप चित्र हुँ म ।
कोठाको भित्तामा झुन्डिएको ऐना
जसलाई सधैँ हेर्छु
जहाँ सुन्दर आकृति हुँ म
आज ऐना छाडेँ
र हेरेँ
ग्यालरी–भित्तामा झुन्डिएका चित्रहरू
निस्किएपछि लाग्यो
कुदिरहेको कुरूप चित्र हुँ म
जो संसारमा सबै–सबैभन्दा कुरूप छ ।
सायद
हिमाल उभिनु
क्राइस्ट क्रसमा टाँगिनु
बुद्घ ध्यानमा जानु
कि यो जगत् संरचनाअगाडि नै
कुनै आर्ट–ग्यालरीभित्र पसेर
सुन्दर चित्रहरू हेरेको हुनुपर्छ यिनीहरूले
र सुदुूर पहाडमा
कठिन क्रसमा
अनकन्टार चेतनाहरूमा
या अनन्त टाँगिएको यो पटाङ्गिनीमा
आपूmलाई चित्रझैँ टाँगिन स्वीकृत गर्यो आफैँले ।
ग्यालरीबाट निस्किएपछि
घोषणा गर्छु
संसारकै सबैभन्दा कुरूप चित्र हुँ म ।