स्मृतिखाताका पुराना पानाका
छातीमा कोरिएको हो यो मेरो
अति नै पुरानो कथा,-
त्यो दिन-प्रभात प्रभाको रश्मिरथमाथि
हर्षले चढी
नाच्दै आएकी थिई
मेरो प्राङ्गनमा
नवयौवनामता एउटी
किशोरी कन्या ;
निरुज्ज्वल प्राङ्गनमा कसो-कसो भएर
मन-शरीर मेरो विधौत गरेर
बगी गयो भल किरण कोलाहलका
मानो श्रावरता श्रावणमा
स्फीतकाया सप्तकोसी वन्या ।
मुक्तकवरी
जसो, केलिरता शवरी
गौरावयवा कुम्कुम लाली
गालामा मसीना लुप्तप्राय खाल्टा दुई
मानो, चञ्चल जलमा
दुई साना हराउन आँटेका भुमरी ।
कज्जल-नयना, शयन मग्ना
स्वप्नातुर पूर्णिमा जुनेली
चरण-शरणमा प्रस्फुटित भई
उठेका थिए
आवेग-विह्वला चम्पा चमेली ।
भावाक्रान्त मनले मेरो
स्नेहाकुल भएर
छोइदियो केशपाश
ममताको टाँङोले
नाची-नाची भई ऊ हिंडी
मुसुमुसु हाँसेर ।