भयो गजिन्द्रे !
सपनाका कुरा नगर
मैले छोरीलाई ‘पाइलट बन्छु भन नानु’ सिकाउन सकिनँ ।
सानो धुरी छ मेरो
उसका साना खुट्टाहरू छउन्जेल
थेग्नेछ धुरीले उसलाई
दुई पाखामा खुट्टा झारेर
रमाउँदै ऊ चिच्याउ“छे–
‘बाबा !
हेर्नोस् त बाबा !
म कत्ति अल्गो भएँ
हात्तीभन्दा अल्गो हगि !’
म उसको
चाहनालाई हेर्छु
हात्ती चढेर
हात्तीभन्दा अल्गो हुने चाहना
र हेर्छु
घरवरिपरि छरपस्टिएका
आफ्नै सपनाका चिहानहरू,
आफ्नै रहरका भग्नावशेषहरू ।
भयो गजिन्द्रे !
भविष्यका कुरा नगर
मैले छोरीलाई ‘डाक्टर बन्छु भन नानु’ सिकाउन सकिनँ ।
मसँग पनि थियोे छोरी–समय
घोकाइएको थियो – सुगारटाइ
‘ठूलो भएपछि के बन्छौ बाबु ?’ – कसैले सोध्थ्यो
‘डाक्टर बन्छु !’ हौसिएर भन्थेँ म
र, हृवात्त पस्थ्यो एकमुठी खुसियाली
मेरो गाई नअटाउने घरमा
वर्षा हुन्थ्यो स्याबासीको
सुरु हुन्थे भविष्यवाणीका लम्बेतान भाषण ।
डाक्टर बन्ने त्यही अनुहार बोकेर
जब म गाउँमा निस्कन्थे
सुरेन्द्रेले जित्थ्यो गुच्चामा,
विनोदेले पछाथ्र्यो कुस्तीमा,
उत्तेले उछिन्थ्यो दौडमा,
कसैले फेरि सोध्थ्यो –
‘ठूलो भएपछि के बन्छौ बाबु ?’
म हारेको अनुहार
सुरोत्तमको बारीकै डिलमा छाडेर
आँगनमा ओर्लिन्थेँ र भन्थेँ – ‘डाक्टर बन्छु !’
उसैगरी हृवात्त पस्थ्यो खुसियाली घरभरि
उसैगरी बर्सिन्थ्यो स्याब्बासीको फोहरा ।
भयो गजिन्द्रे !
उद्देश्यका कुरा नगर
मैले छोरीलाई ‘इन्जिनियर बन्छु भन नानु’ भन्न सकिनँ ।
बन भन्न सकिनँ–
क्लारा जेट्किन
फ्लोरेन्स नाइटिङ्गेल
मदर टेरेसा
अथवा पासाङ ल्हामु ।
भयो गजिन्द्रे !
आँट र हिम्मतका कुरा नगर
डाक्टर बन्छु भनेर घोक्दाघोक्दा
कन्डक्टरसमेत बन्न नसकेको अनुहार बोकेर
मैले छोरीलाई ‘ठूलो मान्छे बन्छु भन नानु’ भन्न सकिनँ ।
अचेल
चुलोबाट फालिएको चिसो दाउराको ठुटो काँधमा बोकेर
छोरी मेरो सम्मुखमा आउँछे
र गर्जेर जवाफ दिन्छे –
‘बाबा !
ठूली भएपछि म फुलनदेवी बन्छु !
ड्याङ ! ड्याङ !! ड्याङ !!!’
माफ गर गजिन्द्रे !
मैले छोरीलाई
‘हारेको समय बन’ भनेर सिकाउन सकिनँ ।