Last modified on 24 जुलाई 2017, at 08:09

क्षितिजतिर / लक्ष्मीप्रसाद देवकोटा


पर पर कुइरी नील किनारा,
स्वर्ग झरीकन जिमीमा छुन्छ,
लामो सडकमा अडी यसबार,
दूर चिहाई दृगले गुन्छ ।

बहुविध पत्थर कङ्कड, काँढा,
बाढी, खाडी, उकाली हुन्छ,
ओर्ली किरण र उक्ली डाँडा,
दूर शिखरमा स्वर्ग नुहुन्छ ।

दिनदिन हेरन नील–काढाँमा,
माकुरीको जाल रहन्छ,
दिनको उज्यालो पर पाटामा,
बाटामा तर कुइरो बहन्छ ।

मानिस आफैं आफ्नो डरमा,
आँखा चिम्ली कैद रहन्छ,
आफैं मगन्ता आफ्नो घरमा,
मृत्यु पुजीकन मृत्यु सहन्छ ।

दुःखले पायो हेर्न कहाँ पर ?
मुटु शर पन्छी दृग चिमलिन्छ,
चतुर्मुखी अघि बन्दछ अमुखर,
घाट र घर बीच तित रुमलिन्छ ।

चिथरो दौरा, आधी छ नाङ्गो,
टोपी शिरमा गोल धरो छ,
गन्धक तन औ हर क्यै बाङ्गो,
भरिया मनिरै ठिङ्ग बरो छ !

कल्पिरहेछु शिखर किनारा
सुन्दर बस्ती श्रमको झलमल,
पूरा मानव हँसमुख सारा,
नव युगलोचन रचना उच्चल!

आँधीहरुमा झर्छन् तरुवर,
तिनमा तारागणले रुन्छ,
हुरी चढेका मानवहरु तर,
भोलि दिनले सम्झिरहन्छ ।