सृष्टि शुरु भएपछि यता धेरैसुकै अरू पनि भैसकेका रहेछन्
रङ्गले भिजेका अनुहार पखालिकेछन्
तैपनि न मैले मौरीका गुँडहरू नै देखेँ
न त गुम्बजहरू नै देखेँ,
त्यसैले म भन्न थालिरहेको रहेछु अचेल,
धेरै गोरेटाहरू अँध्यारोमा हराउन थालेका रहेछन्,
धेरै घामहरू क्षितिजमा अस्ताउन लागेका रहेछन्,
अनेकौँ रेखाहरू नखिचिँदै अथवा नलेखिँदै क्यानभासमा
बिलाउन खोजेका रहेछन् ।
म अस्ताउँदै गरेका घामहरूलाई केही भन्दिनँ,
बिलाउन लागेका ती चित्रहरूलाई पनि केही भन्दिनँ
म अब सच्याउँदिन यो खुम्चिएको, मैलो पुरानो आकाशलाई
बोलाउँदिनँ ती आवाजहरूलाई,
कहिले यस्तो पनि लाग्न थालेको छ
मेरो खुट्टानिर लुटुपुटिँदै बोलाइरहन्छन् मेरा यात्राहरूले
मेरा लक्ष्यहरू मेरो सिलहटदेखिन् तर्सेर भाग्न थालेका छन्
म त कस्तो जसलाई पनि तर्साउने रुख जस्तो भएको रहेछु,
मेरा सिङ्गा आँखाहरूले खालि हेरी मात्र रहँदा रहेछन्,
देख्दा रहेनछन्,
बरु यसो भनौँ कि यी आँखा होइनन्
मेरा मासुसित टाँसिएका दुईओटा मस्कल मात्र हुन्,
स्वयम्भूको त्यो हेरिरहने आँखा भने पनि हुन्छ,
अथवा तलेजुलाई काटिइसकेको राँगाको टाउकामा गएर हेरे हुन्छ
यी त्यस्तै भोग दिइसकेका आँखा हुन्,
तिमीले पत्याएनौ म धेरै दिनदेखिन् कराउँदैछु
मेरो आँखा हेर्छ मात्र देख्दैन भनेर
तिमीले वास्ता गरेनौ म धेरै दिनदेखिन् चिच्याउँदैछु
म मूर्ति उभिएको हुँ, मानिस उभिएको होइन भनेर,
तिमीले बोल्दै बोलेनौ म धेरै दिनदेखिन् भन्दैछु
म साज मात्र हुँ, स्वर होइन भनेर,
फगत् म पनि जान्दछु
तिमीले चिन्दै चिनेनौ, म धेरै दिनदेखिन्
तिम्रो सामु नै उभिँदैछु
अनि सोधेनौ पनि म को हुँ भनेर !