ईश्वरलाई लसुन मन पर्दैन
म खर्पनमा लसुन बोकेर
स्वर्ग हिँडिरहेको छु ।
यो जङ्गलको आत्मा
मेरो दुःखको अन्तिम कविता होइन
यो आवाजको सुरुङ
मेरो युद्धको अन्तिम आधारशिविर होइन
हरेक बिहान
म ब्युँझँदा एम्बुलेन्समा सुतिरहेको हुन्छु
र शब्दहरू सडकमा हिँडिरहेका हुन्छन्
यो दुःखान्त यात्रा
मेरो आस्थाको अन्तिम बाँसुरी होइन ।
म सुदूर अतीतको आकाशमा
मेरो आदिम आत्मा खोजिरहेको छु
जङ्गलको बीचमा रात पर्छ
अँध्यारोमा
एउटा श्रापित काकाकुलले मलाई देख्छ
उसका इन्कलाबी रुवाइहरूमा
अब कुनै अन्तिम अर्थहरू बाँचेका छैनन्
यो निर्जन मूच्र्छनाभित्र
म रुन्छु… रोइरहन्छु ।
मलाई पृथ्वीमा
फर्किन मन छैन
र म खर्पनमा लसुन बोकेर
स्वर्ग हिँडिरहेको छु ।