वहाँले भन्नुभयो – ‘हेन्ड्स् अप!’
अङ्गअङ्ग फुटाएर मेरो
वहाँले खानतलासी गर्नुभयो!
मेरो खानतलासी गर्दा के नै भेट्टाउनु भयो र वहाँले?
अलिकति सपनाहरू भेट्टिए र जून भेटियो
चुरोटको टल्किने कागज जति,
सलाइको बट्टा जति आशा, र एउटा अधकल्चो चिठ्ठी
जसलाई वहाँले डिकोड नै गर्न सक्नु भएन ।
किनभने, त्यो सिन्धुघाटी सभ्यताको समयमा
लेखेथेँ मैले-
एउटा नबुझिने लिपिमा
आफ्नो धरतीलाई-
‘हेलो धरती, कतै जाऔँ धरती,
मियोको गोरू भएर वरिपरि कहिलेसम्म घुमिरहनू?
आऊ, आज कतै अन्तै छड्किऔँ
एउटा अग्नीबाण बनेर
यो ग्रहको अक्षबाट टाढा!
वहाँले चिठ्ठीलाई कच्याककुचुक पार्नुभयो
र मलाई कोचिदिनु भयो कालकोठरीमा!
आफ्नो कलमले म लगातार
खनिरहेकी छु त्यसबेलादेखि
कालकोठरीमा सुरुङ!
कान भूईँमा टाँसेर सुन्नुस्-
धरतीको छातीमा के बजिरहेछ!
के लुकेको कोही निदाइरहेको हो?
र पर उतापटी – सुरुङ पर्तिर – त्यहाँ
देखिन्छ कि देखिँदैन
एउटा मसिनो किरण
र खुल्ला हरियो घाँसको मैदान!
कति आनन्दको सिकसिको!
हुन सक्छ कुनै लोकगीत हिँडेको होस्
हिजो राती यस बाटोबाट!
स-साना गोडाले उड्दै गएका हुन्
शीतले नुहाएको घाँसमाथिबाट।
यसबेला, शीतका ओठमा
केवल काम्दै गरेको एउटा छाया
जोगिएर बसेकोछ ।
पहिलो अनुभूति कुनै सृष्टीको
हेर त-
कसरी तप्किरहेछ तप – तप !
......................................................................
इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।