Last modified on 3 जुलाई 2021, at 08:01

खोजिरहेछु एउटा हृदय / सुमन पोखरेल

एउटा हृदय खोजिरहेछु म
आफूभित्र ।

सृष्टीका तमाम पीडाहरू निलेर हर्षित
संसारभरका आँशुहरूलाई ग्रहण गरेर प्रफुल्ल
यावत् अँध्यारालाई आफूमा विलिन गरेर प्रदीप्त
स्निग्ध, ओजस्वी, निर्मल एउटा हृदय
खोजिरहेछु म आफूभित्र ।

बाँढेर कहिल्यै नसकिने
धर्तीजस्तो वा आकाशजस्तो हृदय,
बाँढ्न सकूँ म
प्रत्येक कोपिलाहरूलाई, जीवनहरूलाई, सपनाहरूलाई,
दिन सकूँ
उल्लास, मौनता र वेदनाहरूलाई ।

निरन्तर उज्यालो दिने एउटा हृदय
खोजिरहेछु म आफूभित्र ।