Last modified on 16 जुलाई 2017, at 09:23

खोज अर्को सम्भावना पागलपन / राजेश्वर रेग्मी


खोज अर्को सम्भावना पागलपन लिएर के गर्छौ
भनी दिन्छु साँचो कुरा, रित्तो मन लिएर के गर्छौ

त्यसो त साथ दिने अरु पनि भेटिने छन् तिमीलाई
रङ्गीन बगैंचा रोज, उजाड वन लिएर के गर्छौ

केही अर्थमा म पनि किनिदिन सकुँला सपनाहरु
हरदम् लीलाम हुने यो निर्धन लिएर के गर्छौ

न्यानो चाहिन्छ सबैलाई तिमी कहाँ अपवाद छौ र
सल्किएको मुटु एउटा दन् दन् लिएर के गर्छौ

भावुकता जहिल्यै पनि अनुकूल हुँदैन जिन्दगीको
फगत् कल्पनाको सङ्गीत छन्छन् लिएर के गर्छौ