Last modified on 1 अगस्त 2020, at 21:43

गाउँमा कविताहरू २७ / रेमिका थापा

चौतारीमा बसेर एकछिन।

प्रौढ शिक्षालयमा साउँ अक्षर सिकेपछि मात्र
जिन्दगी बुझेको होइन

हरेक पाइलामा सिङ्गो साउँ अक्षर हिँडेर
जिन्दगीको मुलुक जितेको कथा छ
गाउँमा,
ह्याकुला दलेर अर्जेको
सम्पति छ गाउँमा ।

एउटा आदिम बिन्दुदेखि हिँडेको
जिन्दगीको घाम छाँया
अक्षरहरूको किरिङ मिरिङ संसारको
कोरा पर्यायबाची मात्र नहोला !

असिना पानीले बेस्कन कुटेको
जिन्दगीको मसिनो निचोड
अर्थहरूको अस्त व्यस्त भीडको समानार्थी मात्र नहोला

‘खुइय्य !’
यसलाई कसरी अर्थ्याउने ?
यात्राको सुशेली हो
कि ता
थकाइको आह हो !