Last modified on 1 अगस्त 2020, at 21:43

गाउँमा कविताहरू २९ / रेमिका थापा

गाउँ कुनै विभाजित मानचित्र हुँदैन।
विकासशील अक्षरहरूको वर्जनालाई
सामना गरेर गाउँ उभिन्छ
कुनै हुतिहाराको आत्मदाहको सारांश
हुँदैन गाउँ !

दुर्घटनाग्रस्त जहाजको भग्नावशेष
गाउँको किनारमा आएर रोकिएपछि
अचल मौनता फैलिन्छ गाउँमा ।

यस चुपचापलाई अझ गहिरिएर हेर्ने दार्शनिकता
गाउँमा नहुन सक्छ
तर आमाको उदासी खैरो खैरो भएर
भञ्ज्याङभरि गहिरिएर जान्छ।
 
सहरमा पढ्न गएको छोरो
गाउँ फर्कन मानेकै हुँदैन।