Last modified on 1 अगस्त 2020, at 21:35

गाउँमा कविताहरू ६ / रेमिका थापा

गाउँलाई फुर्सद छैन ।
 
आफ्ना बालबच्चाहरू स्कूल पठाएर
आफू एउटा युद्धस्तरीय जिन्दगीको किताब पढ्दैछ

जमानाको पाठशालामा आफ्ना बालबच्चाहरू
के पढ्दैछन् ?
बजारले तात्तातो किताबहरूका
नयाँ नयाँ संस्करण उनीहरूको हात हातमा हालिदिएको छ
आफल ताफल !

गाउँ सोँचमा छ
आत्मविश्वास हराएजस्तो
उ पुरानो मोडलको आदिम संसार हुन्छ
लक्स शैम्पुले धुएको केसजस्तो
सुकिलो र चम्किलो किन छैन गाउँ ?

आफ्ना बालबच्चाहरू भने
घोकिरहन्छन्,
सत्य भनेको हमाम साबुन हो !
सत्य भनेको हमाम साबुन हो !