तीखा काँढा सब छ यसका,
चिर्न हर्दम् तयार ।
हावा चल्दा सिर सिर गरी,
पातको हुन्छ मार ।।
हाँगा नाच्छन् फर फर चली,
कोपिला फेरि हाँस्छन् ।
बन्दै साथी, चपल भमरा,
फूलमा चट्ट बस्छन् ।।१।।
हाँसी हाँसी सररर गरी,
फूल रोएर झर्छन् ।
बास्ना मीठा अलिकति दिंदै,
कालका गाँस बन्छन् ।।
फुल्छन्, झर्छन् सहज यसरी,
फूल मीठो र राम्रो
सारै छोटो तर बुझ यहाँ,
आयु यस्तै छ हाम्रो ।।२।।
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)