Last modified on 2 फ़रवरी 2022, at 13:26

गोरखाली भयौँ खालि / मित्रसेन

गोर्खाली भयौँ खालि मान फाली
तीनपानेले हो कि हजुर

आठआना छ तिनको कमाई, छ आनाको रक्सी
मेमसाहबलाई ट्याम्फर छैन, भनी हेर ठस्की
साहुसँग मुण्टो लुकाई हिँडछन् मस्की मस्की
अदालतका मानिस आउँदा बल्ल नानी झस्की झसङ्ग
गोर्खाली भयौँ खालि मान फाली
तीनपानेले हो कि हजुर !

काँटीमा तान छैन, मिस्टर बुलबुले लर्काउने
घरको मुसो खानु नपाई, कराई घर थर्काउने
जे परे नि पर्ला बाबु ................... फर्काउने
भन्ने मेरा बोक्रे साहेब जाति नाम पड्काउने हजुर त
गोर्खाली भयौँ खालि मान फाली
तीनपानेले हो कि हजुर !

एउटो गोरु फुस्रो फुस्रो अर्को गोरु तारे
रक्सी नाखाऊ भन्दा, हेर नाकमा गाँठो पारे
यस्ता जाबा गीत भनी सुन्न पनि छाडे
नजातीलाई छाड्नु भन्दा जाती माया मारे सबैले
गोर्खाली भयौँ खालि मान फाली
तीनपानेले हो कि हजुर !

हातमा घडी, सार्छ बत्ती बाह्र बजे दिनमा
घण्टा घण्टा फेरि हिँड्छन् फेसन एक एक छिनमा
जरो आउँछ बेलुकी यदि पिए नन् ...................
कठैबरा बाबुसाहेब चुर्लुम्म भो’ रिनमा भसक्क
गोर्खाली भयौँ खालि मान फाली
तीनपानेले हो कि हजुर

फेरि कहिले पाउँदैन कि एकैछिनमा धोक्छन्
राल र सिँगान भएर कठै थाप्ला साप्ला ठोक्छन्
छातीभरि वाकी बरा पत्‌लुनैमा हग्छन्
खाँदा खाँदा फोक्सो कुही ...................
तीनपानेलाई छाड्नुभन्दा जिब्रो बरु टोक्छन् सबैले
गोर्खाली भयौँ खालि मान फाली
तीनपानेले हो कि हजुर !

आफ्नो कमाई खानु छ है मनपरी नै खाउँला
कसको बाको कमाई छ र मनपरी नै लाउँला
त्यस्ता जाबा फरिया चोलो, ट्याम्फर सारी लाउँला
हाइ हाइ मेरो पहेँलो झोल कहिले खान पाउँला
भन्न देऊ न, मित्रसेनलाई गाईखाने मानौँला मैले त
गोर्खाली भयौँ खालि मान फाली
तीनपानेले हो कि हजुर