Last modified on 23 जून 2020, at 09:30

गौरव / रमेश क्षितिज


आकाशजस्तो छाति मेरो पहाडजस्तो मुटु
जहाँ जहाँ जाऊँ मैले मेरै नेपाल भेटूँ
दुःखमा पनि नझुकूँ म शिर ठाडो बनोस्
थोपा–थोपा रगतले नेपाली हुँ भनोस्

मेरो देश भन्नलाई त्यसकै अधिकार हुन्छ
जसको छाति झण्डालाई उभ्याउने आधार हुन्छ
मैले देश थामूँ सधैँ मेरो आफ्नै काँधमाथि
ढुक ढुकीमा नेपाल होस् सधैँ दिन राति

बाँचुन्जेल नेपाली म नेपाली भई मरूँ
इतिहास साक्षी बनोस् त्यस्तो मैले केही गरूँ
दुःख पाऊँ दुःखमा पनि गर्व बनोस् मेरो देश
देशकै निम्ति काम आओस् श्रम सीप मेरो जे छ !