Last modified on 17 मई 2017, at 11:38

घर १ -३ / केवलचन्द्र लामा


घर-१

चरी बरीका ओठबाटै गीत खोसेर
परपरी भुट्यो उसले।
हावाको हातैबाट शीत खोसेर
आगोमा झोस्यो उसले।
ठूल्ठूला पाँसुला देखाएर आँगनभरि घुम्यो डँडाक उ।
आकाशभरि हातखुट्टा फैलाएर
लमतन्न प-यो नाथे
तानाशाह घाम।

ड्याम्म दैलाखिर्की थुनेर
उ ओछ्यानमा पल्टी।

कहिले फर्कने हो अब घर
मोरो पल्टने?

घर-२

मुटु राख्नलाई घर चाहिन्छ भन्छन्।
उसो भए बेघरबार भयो मेरो मुटु।

कसरी हुर्काउनु होला भविष्यत् काल
घर नभएको मान्छेले।

छुट्टिने बेलामा गाँउघर जम्मै बोकेर निस्के पनि
जम्काभेट हुँदा मुटु ढुकढुक हुने त्यो राम्री केटी
यो टाढामा हुँदैन रहेछ।

कस्तो सास्ती यो
घरबाट धेरै टाढा हुनु आफू
आफ्नै घरमा।

घर-३

सानोमा
मेरो सानो झ्यालमा
सानो आकाश टाँगिन्थ्यो।
म दौडेर आँगनमा निसकन्थें।
मेरो सानो झोलामा
मेरो भागको सानो आकाश भर्न चाहन्थें।
घरका सबै झोलामा पनि नअँट्ने हुन्थ्यो आकाश।

आज पनि
खोज्यो कि हराउँछ यो आकाश।
पाउने बेलामा चोरिन्छ त्यो आकाश।

वास्तवमा त्यो आकाशभन्दा
अलिकति ठूलो छ मेरो घर।