Last modified on 17 मई 2017, at 11:49

घर २५-२८ / केवलचन्द्र लामा

घर-२५

घरले बुझ्दैछ
घाममा आइसक्रिम पग्लेजस्तो
पग्लनु हुँदैन मान्छेको मन।
तर अघिल्तिरबाट हिँड़्‌ने
चिन्नु न जान्नु अनुहारमा
मन छापिएको पढ़नुखोज्छ घर

घर अलि पुरानो ढॉंचेको छ।

बाली-बिरूवाको भाषा
कृषकले बुझ्छ भनेर किरिया हाल्छ घर।
फूलमा सॉंझ-बिहान पानी हाल्छ।

मुस्कानको निरङ्‌कुस सैन्यले
घाइते पारिहाल्छ घरलाई।

कहिलेकाहिँ चकमन्न खोज्दै
भित्र कोठामा सुस्ताउँछ घर।
घर अलि पुरानै ढॉंचाको छ।

घरले बुझ्दैछ
सम्झनाहरूले घर भर्नु हुँदैन।
तर सास फेर्ने अलि ठाउँ भेट्यो कि
बोजूको नक्साअघि उभेर
आँसुसरी भइहाल्छ घर।

आज पनि रेडियोमा नाटक सुन्छ घर।

घर अलि पुरानै ढॉंचाको छ।

घर-२६

हर झिसमिसेछेक
डिङ्गर रात
घरसँग सधैँ हार्छ

संसारले उज्यालैले हेर्छ घरलाई
उज्यालैमा हेर्छ घरलाई।

दर्गुदै आउँछ उज्यालो
लजाएर आँगनमा बसिरहन्छ
घरकी छोरीले खोलिदिन्छे दैलो
चिया खान्छ

अँध्यारोमा घरले
ओइलिनुको परिभाषा पढ्छ

तर हर झिसमिसेछेक
डिड्गर रात
घरसँग हार्छै हार्छ।

घर-२७

घरलाई अनुभव छ
कति चिल्ने हुन्छ
अधकल्चो भविष्यको गीतागायन।

छोरो स्कूल पढ़्‌दाको
मज्जा आउने कथाहरू
भुल्दै जॉंदैछ घरले ।
छोराछोरीकै अनुहारले टहटह हुन्छ
घरको जुनेली
घरले भन्नु छोड़ेको जतिक्कै छ।

बिहानै फतक्क गलेको हुन्छ घर।

करैले काममा जान्छ
टाउको दुखिरहने घर
पेनकिलर खाएर

छोरो सुध्रिन्छ एकदिन
-त्यो दिन आउँछ?
-हो बा आउँछ।

घरलाई अनुभव छ
कति गाह्रो हुन्छ
लाठे छोरोको पहेंलो अनुहार
र त्यहॉं आँसुको ताजा डाम
चर्किएको ऐनामा हेर्नु
एकाबिहानै........

घर-२८

अँध्यारोले फोरिदिन्छ दैलो
र घरभित्र पस्छे
काली बेस्से रात।

पानीको सङ्लो अनुहारमा टॉंसिन्छन्‌
बाल्टीभरि कालो रङ्ग।

समर्पित हुन्छ घर कलुटी रातभरि
फुकालेर अभिमानको दौरा
खोलेर मर्यादाको सुरूवाल।

घरको अनुहारमा धोप्टिन्छ चुक।
घरको अनुहारमा पोतिन्छ मोसो।

कालो मजेत्रोले अनुहार छेलेर
धम्मरधुस डायनी आउँछे
र धिब्रीको सलेदो निचोर्छे।

घरको भुइँमा ऐंठनले
खिलहरू घोंच्छ।

धोकेबाज मसान्तको पेट बोकेकी
आकाशको चाकमुनि
चेप्टिन्छ घर।

आँगनको रूखमा गुँड़ बनॉंउछन्‌
कागहरूका प्रेतआत्माहरू र लुछिखान्छन्‌
अल्पलसंख्यक उज्यालाका भुराहरू।

आँखा चिम्म गर्छे खिनैटी जूनले।