Last modified on 7 सितम्बर 2024, at 13:27

चाहना / दीपक शम्चू

मसँगै झुमिरहून् फूलहरू
सुटुक्क दिल चुमेर
नाच्दै पर-पर जाऊन् पुतलीहरू
फर्की आउँदा मेरै शिर छोएर बसून् ।

उदाओस् सुनौलो बिहानी,
सूर्योदयसँगै शिशिरको हिमपात पग्लिएर बाफ बनी
स्पर्श गर्दै जाओस् मेरो अङ्गप्रत्यङ्ग
फर्किहेर्दा जूनले पनि
मेरै मुहारको उज्यालो देखोस् ।

फूलसँग खेलिरहेको बतासले
उनी लगोस्
चौतारीमा बिसाइरहेको सुसेली
हिमालको मुहारभित्र अल्भिबसेको मुस्कानलाई
झरनाको धुनले टिपेर छालहरूसँगै बगाओस् ।

म चाहन्छु जीवन
ज्ञान गङ्गाको सागरमा हेलिएर
सदाकाल चम्किरहोस् ।

०००