Last modified on 11 जनवरी 2025, at 07:40

चिठ्ठीहरू / अबीर खालिङ

डाँडामा एक्लै हावामा हल्लिरहेको
लुङदरमा
शरदको सुकिलो शान्त आकाशमा
टोहोलाइरहेको जुनमा
अवोध बालकको निष्पाप प्रश्नहरूमा
तिम्रा चिठ्ठीहरू पढिरहन्छु।

ती प्रेमिल चिठ्ठीहरू
ती कोमल चिठ्ठीहरू
अति कमनीय
अति रमणीय ती चिठ्ठी –
जो हर बिहान घामका कलिला पाउसँग
मेरो बार्दलीमा आएर बिसाउँछ
घामले टेक्दै शितको थोपासँग बिलाउँछ।

चराका गीत बनेर
भँवराको भुनभुन बनेर
कि त खोलाको सङ्गीतसँग
कतै आकाशकै गनगन बनेर
आउँछन् चिठ्ठीहरू
र मेरा प्रतीक्षा ओढेर निदाएका
अकर्मण्य दिनहरूलाई
उसका मायालु शब्दहरूले
सुम्सुम्याउन थाल्छन्।

बाजे मकारिकलाई वानकाको अनुनयमा
कति चिठ्ठीहरू आए
जोसेफाइनको बिलौना बनेर नेपोलियनलाई
कति चिठ्ठीहरू गए
इलिजावेथ व्यारेट, अमृता प्रितमका उच्छवासमा
कति चिठ्ठीहरू हावामा उडिगए
कुनै चिठ्ठी चाहनामा लेखिए
कुनै बहानामा लेखिए।

चिठ्ठीहरू त
कुनै प्रेयसीको प्रितमा लेखिए
कुनै ऋतुहरूको रितमा लेखिए
चिठ्ठीहरू त
वसन्तको बहार र
शिशिरको प्रहारमा पनि लेखिए।

मलाई अहिले पत्र मञ्जुषाको पेटभित्र
कैद भएको प्रेमिल चिठ्ठीको याद आउँछ
हुलाकीको झोलाभित्र निस्सासिएको
कुनै लाहुरेको छटपटी र विवशताको याद आउँछ
कहिले भने एकनास लेख्दै च्यात्दै फालेका
यशोधराका असङ्ख्य ती अशक्त चिठ्ठीहरूको याद आउँछ
हो तिम्रा स्नेहाशिक्त आशिषमय अदृश्य हातले
मेरा कमजोर पलमा तिमीले पठाएका
ती चिठ्ठीहरूको
झनै याद आउँछ।

बगैंचाको स्निग्ध गुलाफमा
वर्षाको इखालु वर्षातमा
हिउँदिला वर्फिला कहरमा
पनि तिम्रा चिठ्ठीहरू आइरहन्छन्।

बाटामा
घाटमा
बजारमा
शम्सानमा हर समय हर पल
तिम्रा चिठ्ठीहरू पाइरहनु तिमीबाट प्रेमित भइरहनु
अहो म त सुखको वृन्दावनमा हुन्छु।