Last modified on 1 अगस्त 2020, at 21:04

चैतको घाम / रेमिका थापा

गाग्रोमा पानी पिँधसम्मै सुकिसकेको छ
चरीले ओसारिरहिछ
तृष्णाको कण !

फुटपाथबाट मगन्तेले
आकाशको विराट्पनलाई
मोहित भएर हेरिरहन्छ
मनको विशाल सिँहासनमा बसेर
उसले ताराहरू बटुल्छ
चुहुने थाङ्नामा ताराहरू !

आफ्नो अगणित यात्रामा सिसिफसले
अगणित पटक आकाश हेरेको छ
उसका अभिशप्त पयरका
डामहरूले कुद्दै कुद्दै त्यो आकाशको निलोपन
ओसारिरहन्छ
अभिशप्त धरतीको कण कण
त्यस निलोको तिर्खाले
कति ब्याकुल छ !

समसाँझमा लोलाएर धरतीले त्यो.निलोपन थाप्छे
विडम्बनाको चुहुने हाँडीमा !

सर्वाङ्ग नाङ्गो अन्धकारमुनि
चेप्टिएर निदाउँछ एउटा सुन्दरी रात
अन्धकारको कुरुप तिर्खामा
एक चोइटा आकाश झरेर क्षितिजको आङमा कोर्रा हिर्काउँछ
बर्बर अतिक्रमणको चेपमा चेपिएर
कुना कानीमा मर्छे एउटी रानी रात ।

रक्ताम्मे भएर फुलहरू कुनै हालतमा
ईश्वरको चरणसम्म पुग्छन्
सन्देश बोकेका सारथी परेवाहरू
बुद्धका काख खोज्दै लङ्गडाउँछन्।

घडीको हरेक टिकटिकमा
यहूदीको अनुहारमा धस्केको पैह्रो
जो आदिम ओढारको
अत्य़ाधुनिक बाथरुममा नुहाउँन गइरहेका छन्।
सोह्रेर आएको बतासमा
काँचो गन्धलाई जितेर
काकाकुलीहरू उड्छन्
ओह ! तिर्खाको दंश
हरेक छेउबाट तानेर
आकाशै पिउन खोज्छन्,
सर्वाङ्ग निलो गङ्गालाई
 तृष्णाको यो दंश !

रुखहरूलाई कम्प्लेक्स छ टावरहरूसँग
जसको फलामे हाँगामा बसेर
कोइली कराउँछ
निहुरेका निहुरेकै रुखका पातहरूका छल लागेर
शरद् बसन्तहरूले बजारलाई हेर्छ
मुद्राहरूको हतारो ओहोर दोहोर हेर्छ
समाचारमा अक्षरहरूका
तिक्खर संवादलाई सुन्छ
अक्षरहरू जुझेका कोहोलो जतिजति बढ्छ
बजारको तिर्खा उतिउति चर्किन्छ
मान्छेका इच्छाहरू पनि खुद्रा पैसाका
चञ्चल छनछनाहटमा जोडतोडले बज्नथाल्छ
खुद्रा इच्छाहरूका बाजारु पेटीमा कैद
मान्छे
इच्छाहरूकै नाकडोरीमा डोरिएर भाग्दै जान्छ।

सिद्दार्थ घुम्न निस्कन्छन्
आफ्नै मनको कारागारमा
बन्द छ सारथी
संसारका परिभाषाहरू खोलेर निस्कनै मान्दैन
मनका सिँडिहरूबाट झरेर
आफूसँग हिँड्नै मान्दैन आफ्नै छाँया।

तृष्णाको हजार रङ
सहाराको मरूभुमि तरेर आई
चरी !
गङ्गाको तीरै तीर दिन भरी भरी उडिरही
दिन भरी भरी चरी
गुलमोहरको रूखमा चरी
निहुरेर गाग्रोमा हेर्छे
नदेखिने आफ्नै सुक्खा मुख ।

चरीले ओसारिरहिछ
तृष्णाको कण !

 ............................................................................
रचनाकाल २०.०१.२००२