Last modified on 4 जून 2017, at 15:24

चौतारोमा उभिएर / निमेष निखिल


 
भग्न चौतारीको छेवैबाट
रक्तमुच्छेल घोडाहरू
आलस्य हिँडिरहेछन्
पिठ्युँमा ससाना बुद्धहरू सवार छन्
थाहा छैन
कहाँ जाँदै छन् सँगसँगै
सपनाहरू : आफ्नै आँखाबाट
भावनाहरू : आफ्नै मनबाट।
 
विश्वासको सङ्कट छ सर्वत्र
अबोध सानी छोरी सोध्छे–
बाबा! फेरि लालीगुराँस फुल्ला त !
उत्तरमा पाखाभरि ओच्छिन्छन्
प्रश्नात्मक आँखाहरू
अनाहकमै एउटा दारुण दृश्य बोक्नुपर्छ आँखाहरूले
गुराँसका पोथ्राहरू खङ्ग्रङ्ग सुकेका छन्
रगतका फाल्साहरू
पाखाभरि फुलेका छन् बदलामा
उफ् यो बीभत्स परिवेश !
छोरी, खै के उत्तर दिऊँ तिमीलाई ?
अलिअलि आफैँ समयबोध गर्दै छु म
कठै! कहाँ पो टेकून् बुद्धहरूले पाइला?
कुन आकाशमा स्वच्छन्द उडून्
सेता परेवाका बथानहरू?
झूटा आश्वासनहरूमा
कति पो बौरिरहन सक्छन् र सपनाहरू?
अभिशप्त मझेरीमा कति पो थन्किरहन सक्छन् र भावनाहरू ?
सोचको चौतारीमा उभिएर
हेर्दै छु अपलक/यति बेला म... ... ...
 
भग्न चौतारीको छेवैबाट
रक्तमुच्छेल घोडाहरू
आलस्य/हिँडिरहेछन्
पिठ्युँमा ससाना बुद्धहरू सवार छन्
थाह छैन
कहाँ जाँदै छन् सँगसँगै
सपनाहरू : आफ्नै आँखाबाट
भावनाहरू : आफ्नै मनबाट।