जब छोरीको कोठाको ढोका खोल्छु
मनभरि उसको संझना तरंगीत हुन्छ
उ छदाँको हल्लखल्ल
खित्काखित्की...........
सवै छात्रावास वसाइ सरेका छन् ।
कुरकुरे, लेज जस्ता मन्दवीष खाँदी होली
कोक, रेडवुल जस्ता के के चिसो पिउदी होली
पातलो दाल
वा चामलको ढुंगा लाग्दा वेला वेला
घर फर्कू फर्कू लाग्दो होला ।
विसञ्चोको एउटा खवर
दिन– रात सबै विथोल्छ
मन भित्र भित्रसम्म कम्पीत हुन्छ
आशंकाका अण्डा
आपसेआप कोरल्छन् पीरका चल्ला
हुर्काई सक्नु कहाँ छ !
चिन्ताका यी भावी कुखुरा ।
कति संझाए, कति बुझाए
यो काख छोडेर नजाउ भनि
सकिन,
संगतको विजय, मेरो पराजय
खपी सक्नु कहाँ छ !
उदास आँगन, रित्तो घर ।
तार तरंग नदीझैं
वारि म पारि उ
न मेरो वोली निस्कन्छ , न उसको
केवल, रुग्न गला, दविएको आवाज ।
शिक्षा निकेतन छात्रावासमा इन्दीरा वसिन
कमलाको मर्म वुझदैछु
राम,लक्षमण, भरत, शत्रुघन गुरुकुल आश्रम गएका हुन
कौशल्या, कैकेयी र सुमित्राका आँशुको रंग चिन्दैछु ।
कोही दौडदैन
जोड जोडले आवश्यकताका सिटीपनि वज्दैन
खानेकुरा जहाँको तँही
हप्तौ रहिरहन्छ
फलफूल विग्रीएर फाल्छु
मन भक्कानिन्छ
र चहराएर दुख्छ मातृत्व
छात्रावास छोरी सरेपछि ।