झरी दर्किरहेको बेला
आकाश गड्गडाइरहेको बेला
झ्यालबाट टोलाएर एकाग्र मनले
बलेसीका पानीका फोकाहरूलाई
खेलाइरहेकी हुन्छ्यौ तिमी
बालापनका ती बालुवाका घरलाई जस्तै,
त्यसैबेला
जोगाउँदै आँधीका आवेगबाट आफूलाई
कहीँ रुझेको कहीँ नरुझेको
अनाम सहरको एउटा अप्रतिम कवि
तिम्रो आँगनमा ओत लाग्दै हेर्न थाल्छ
पग्लिँदै गरेको कालो आकाशलाई
र परिक्वान्त उसका आँखाहरूमा
तानिँदै–तानिँदै आउँछ्यौ तिमी
मायावी स्वप्नहरूले !
तिम्रो मनले लेख्छ – युग्म नाउँहरू
केतकीका हरिया पातहरूमा
क्षणभरमै, गोठ फर्किरहेका भेडाका बथानहरूले
धुलै–धुलोले छपक्कै ढाकिन्छन् त्यसलाई
सुन्न खोज्छ्यौ जोडी परेवा स्वरहरू
त्यसलाई चट्याङले त्यसै खण्डित बनाइदिन्छ
ढल्छ तिम्रो स्वप्नको उँचो मन्दिर
समयको निर्मम भुइँचालोमा !
र प्रेमको पवित्र ग्रन्थ पढुँला भन्दाभन्दै अनुहारमा
टाढिँदै जान्छन् – तिम्रो ईश्वरका पदचापहरू
दिदृक्षाले सताइरहँदा
उतै फर्किन्छ ऊ जुन बाटो आएको थियो,
वर्षौं लाएर बनाएको बिसाउनी
नबिसाउँदै पुरिन्छ अप्रत्यासित पहिरोमा
र कहालिएर भन्छ्यौ तिमी
हराए हुन्थ्यो अब त सम्झनाको सुनौलो सन्दुक
विस्मृतिको घना जंगलमा !
आकाश उघ्रिँदै जान्छ
थामिन्छ झरी
र नेपथ्यबाट कतै उही प्रिय आवाजले
झस्काइरहन्छ तिमीलाई सम्बोधन गरेर
प्रियम्वदा ! यो सम्झना त बेहिसाब कुँदिरहेछ
पछ्याइरहन्छ यसले त तिमीलाई जस्तै
मलाई पनि
अघिपछि हिँडिरहने मान्छेको छायाजस्तो भएर ।