पानी-पानी सब टम्म थियो, कता कता यो 'फुलवारी,
डाडाहरूको कम्मरसम्म त नागहरूकै घरवारी ।
शिखर-शिखरको बाटो हिँड्दै पुर्खाहरू यसमा आए,
पानीलाई खोला ओढी सागरतिर नै जान सिकाए ।
पानी त सुक्यो तर वढ्न गए वोट-वुटाहरू झ्याम्झ्याम्ती
मानिसमारा जन्तु रिसाहा देखिन थाले छयाप्छ्याप्ती ।
पुर्खाहरूको बलिदान अहो । कति भनूँ छन् अनगिन्ती,
दु:ख, विपद् कुन मात्र सहेनन् यै फुलवारीनिम्ति ।
घाम र पानी कत्ति नमानी माटोलाई विम्झाए,
गाह्रो, सांग्रो लाख छिचोली गाउँ र यी शहर वसाए ।
आँधी र हुरी पस्न नसक्ने कति घर, ओडार सजाए
काठी हाली साँघुहरूको कति खोलालाई कजाए ।
उसले माटो, उसले ढुङ्गा, उसले पानी ल्याएर
आज छ यो उभिएको हाम्रै ममता-मूर्ति भएर ।
नमिली दुइटा बन्छ र यौटा साझा हाम्रो फुलबारी ।
यौटै भैकन सब दिन सबले गर्नु छ यसको रखवारी ।
यो नै राष्ट्रिय धार बगाउन नित्य समर्पित जसको प्राण,
आज उनैको जन्मोत्सवमा यो मेरो जय माल-गान ।