Last modified on 11 अगस्त 2024, at 20:16

जलाएर सपना आँखामा / सानु शर्मा

जलाएर सपना आँखामा, बिउँझैछु म
बोकेर छातीभरी आगो, हिउँझैँ छु म

जति दियौ सबै लिएँ, हाँसेँ, मुस्कुराएँ,
बचेका छन् आँसु, तिनलाई पिउँदैछु म

पलछिनको साथ थियो तिमीसँगको
बटुली ती समयका टुक्रा सिउँदैछु म

तिमी अझै धडकिरहेछौ यो मुटुभित्र
प्रमाण अरू के दिऊँ भन, जिउँदैछु म

भेटिएलाऊ तिमी भनी आँखा डुलाई हेर्छु
के तिमीलाई पनि कतै भेटिऊँझैँ छु म ?

तेरा चोट बटुलेर गजल लेखेँ मैले, सानु
के तेरा लागि पनि केही लेखिऊँझैँ छु म?