Last modified on 28 जुलाई 2017, at 22:45

जिन्दगीको सिफारिस र कारगिल / विमला तुम्खेवा


मन —
यतिखेर कोसोभो र कारगिल भएर
दुखिरहेछ
अब —
मनहरुले बैँस उमारे सगरमाथा चढ्नुपर्छ
विस्मृतिका अधुरा बहुमतहरु
झूटा लालपूर्जा लिएर
अचेल —
पराधीन गर्दै छन् मान्छेका मनहरुलाई
धेरै भयो मान्छेहरुले

जिन्दगीलाई आफ्नो सोचेर नबाँचिदिएको
बुद्धको शालीन आँखाबाट
रगतको आँसु झरिरहँदा
पटक–पटक
म —
सभ्यताको सिविरबाट एक्लै चिच्याएकी छु
आऊ ...
हामी सबै मिली समन्वयको विकास गरौँ
अहिले —
मेरी आमा
कारगिलमा दिवंगत छोराको सम्झनामा
दुखिरहँदा मेरो देश दुख्नुपर्ने
तर —
देश यतिखेर
खित्का छोडी–छोडी हाँसिरहेछ
आऊ !
हामी सबै मिली
स्वर्णिम अक्षरहरुले लेखौँ
देश ...
दिवंगत छोराहरुको सम्झनामा
दुखिरहेको आमाहरुको मनसँगै दुख्नुपर्छ ।