केही दिन अंगालेर जवान बसन्तलाई
त्यो लाहुरे
आधीजस्तै परदेशियो,
मनभरि
शरीरभरि
प्रतिक्षा लिएर ऊ उभिरही।
आसु बोकेका ओसिला रुमालहरु
प्रत्येक झरीमा कुहिएर माटो भए,
हावा चलेपिच्छे
फुटेर चुराहरु
भुइभरि थुप्रिदै गए।
सँधैं चैतमा हुरी फर्कियो
तर लाउरे?
न उस्को चिठ्ठी,
न जिउदो हुनुको आभाष
केही पनि फर्किएन।
केवल हैरानी निगरानी गर्न
आखाहरु आइरहे
बस्, लाचारी तौलन
दयाका तराजु तल्लिन रहे।
उमेरभरि
बाझो बसेका सपनाका फाटहरु
आतेस निरन्तर
र आगो झरेका आखाहरु
उसगै बुढिए।
मन पाक्यो र फले पत्थरहरु
गुलाफका पत्र झरेजस्तै
भूईंभरि झरे आशाहरु।
कुन चाहनाले झुक्याउन सक्छ यसरी
कुन बन्धनले उभ्याउन सक्छ यसरी
उ अचम्ममा छे,
सम्झनुपर्ने त केही पनि छैन
धमिलिएको ज्योति
कामेका हातगोडा
र आधा झरेेको सेतो कपाल......
कतिपल्ट विर्सन खोजी
सक्दै सकिन
र सरापीरही
आशामा बाचेको आफ्नै पापी मनलाई।