Last modified on 9 जुलाई 2024, at 18:18

जिन्दगी र म / सानु शर्मा

कहिले जिन्दगी मसँग झुट बोलिरहेछ
कहिले म जिन्दगीलाई ढाँटिरहेछु
कहिले ढाँडिनुको प्रतिफल भोगिरहेछु
कहिले ढाँट्नुको सजायँ काटिरहेछु ।

जिन्दगी लागिपरेको छ मलाई पछार्न

आफ्नो डेगमा अडिरहेछु
जिन्दगीसँग कसै गरी नहार्न ।

एकअर्कालाई पराजित गर्ने एकोहोरो होडमा
निरन्तर लागिरहेछौँ
एकअर्काका कमजोरी खोजिरहेछौँ ।

कहिले जिन्दगी मलाई खेदिरहेछ
कहिले म जिन्दगीलाई खेदिरहेछु
कहिले जिन्दगी मसँग भागिरहेछ
कहिले म जिन्दगीसँग भागिरहेछु ।

म सधैँभरी मौका खोजिरहेछु
उपयुक्त बेला पर्खिरहेछु
जिन्दगीलाई विजयी प्रहार गर्न
आफ्नो अधिनमा ल्याएर
मनले चाहेको रङ्ग भर्न ।