अभिनयले
जीवनको मीठास लुटेपछि
आफू उनिएको हागामा
विश्वास गर्न छोड्छ लहरा,
उमि्रएको माटोमा
भर गर्न छोड्छ रुख
चालिएका हरेक पाइलालाई नै
प्रश्न गर्न थाल्छ माटो।
जिन्दगी पगालेर बालेको
पसिनाको दियोसग झर्कन्छे पत्नी,
रहर हिड्ने खुट्टाहरुको
खिसि गर्छे
र सोध्न सक्छे आफ्नै पतिलाई
नाटकको अन्तिम दृष्य।
सोध्ला कुनै बाबुले
आफ्नै सन्ततिको बंश
र कातर होला भयले मान्छे,
जन्मसग घृणा गर्नेहरु
कसरी तय गर्लान् जिजीविषाको यात्रा ?
सहयात्राको अभिनयले
कसरी जोगाउला आफ्नोपन
र छेउछेउमै थुप्रेलान्
मान्छेजस्ता वालुवाका थुप्राहरु।
तिनै परास्त वालुवा
विझाउलान् हरेक मान्छेको आखामा,
फगत पानीले विघटन होला
आकर्षणको केन्द्रबिन्दु।
तिमी मनको महलमा
अभिनयको संकेत ननाच्नू
रगंमञ्च सम्झेर जीवन
अभिनयको खुशी नहास्नू,
जीवनको विजय त
विस्वास रोप्नु र हिडिरहनु हो,
विस्वास उमार्नु र हिडिरहनु हो,
विस्वास फुलाउनु र हिडिरहनु हो।