Last modified on 1 जून 2017, at 20:46

जीवनवादी मित्रसँग / निमेष निखिल


हिउँ अग्लेका हिमाल,
गुराँस हाँसेका पहाड
र सुन पोतिएको तराईको बिलौना
सुनेनौ र तिमीले ?
 
दुःखका झार उम्रेर सेप परेको जिन्दगीमा
कहिले लाग्ला आशाको पहारिलो घाम ?
 
पानी बाहेक अर्थोकै केही बग्छन् नदीहरू
र खस्छ हेर्दाहेर्दै अन्धकार आफ्नै आँखामा
किन सुन्दासुन्दै शोकगीत बन्छ जीवनको धुन ?
 
घाउहरूको मेलामा किनबेच भइरहेछन् चोटहरू
मायाले हेरिएका अनुहारमा
किन हेर्दाहेर्दै अस्ताउँछ एउटा बुढो घाम ?
 
साउनमा आँखा फुटेको समय
सधैँ हरियो सपनाको हिसाबकिताब माग्छ
यति बेला मान्छे किन निदाउन सक्दैन मौनता ओढेर ?
घरबाटै सुरु हुन्छ एउटा महायुद्ध
र हुर्कन्छ आँगन, चोकहुँदै बस्तीभरि
अबोध नानी आँखामा समेत किन निर्लज्ज हाँस्छ हिंसा ?
 
समस्याको एउटा सगरमाथा उभ्याएर छातीमा
उदासीको भाका हाल्छन् अनुहारहरू
गन्तव्य बिर्सेर किन टोलाउछन् बाटाहरू,
लेख्ने विषय नपाएर झोक्राएको एउटा परिपक्व कविजस्तै ?
 
भन, कता हराए बाटो बिराएर अल्मलिएका रहरहरू ?
खै पाइतालाको आलो छाप गन्तव्यका बाटाहरूमा ?
कसले ग्यारेन्टी गर्छ–
क्षितिज च्यातेर हेर्दा आशाको घाम देखिन्छ भनेर ?
 
तिमी आशा र आस्था लेख,
जीवन लेख कवितामा भन्छौ मित्र !
मैले आफ्नो जीवनको बगैँचाभरि शिशिर बोकेर हिँडेको
के तिमीले देखेका छैनौ ?
 
सोचाइका भिरहरूमा एक्लै हिँड्दै छु
जुध्न त जुधेकै छु काला अँध्याराहरूसित
र पनि अलि फरक भएँ कि क्या हो ?
साँच्चै निराशावादी भएँ कि क्या हो म त ???